Tuesday, June 30, 2009

'ज्याबल चलाउन सिपालुले बनाउनेछ नयाँ नेपाल'

सीप-संवाद
डा. रामहरि लामिछानेसँग

गाउँ-गाउँका चौतारी र चियापसलमा बसेर बेफ्वाँक गफ लडाइरहेका या क्यारमबोर्ड खेलिरहेका मानिसदेखि सहर-सहरका चोक, गल्ली र सडकमा यसै बसिरहेका या भौंतारिरहेका मानिससम्म, बेरोजगारी थुनछेक गर्नै नसक्ने महामारीझैं बढिरहेको छ । पौरख गर्न सक्ने युवा पाखुरीमा सातपत्रे खिया परेको छ । प्रत्येक युवा, यस्तो लाग्छ, निचोरिएको कागतीजस्तो अनुहार र हतास मनस्थिति बोकेर बाँच्न अभिसप्त छ । त्यसो त, आर्थिकमन्दीका कारण हाल सम्पूर्ण जगत् नै बेरोजगार भएको छ ।

नेपालमा ४५ देखि ५० प्रतिशतसम्म बेरोजगार हुन सक्ने बताउँछन् रोजगारीका लागि सीप परियोजनाका प्रमुख डा. रामहरि लामिछाने । सरकारी तथ्यांकअनुसार करिब सात प्रतिशत मात्रै बेरोजगार छन् । करिब ४० प्रतिशत अर्धरोजगार छन् भन्छ सरकारी तथ्यांक । नेपालमा न सरकार भरपर्दा छ, न सरकारी तथ्यांक ।

रामहरि डा'साब भन्छन्, 'अर्धरोजगारी आफैंमा बेरोजगारी हो । वर्षमा ३०/४० दिन खेतीपातीको काम गर्ने केको अर्धरोजगार ? ऊ बेरोजगार नै हो ।' वास्तवमा बेरोजगार को हो त ? रोजगार, काम या जीविकाको माध्यम नभएको मानिस बेरोजगार हो । 'आर्थिक क्रियाकलापमा संलग्न हुने क्षमता भएको तर हुन नपाएको मानिस नै बेरोजगार हो,' रामहरि बेरोजगारको परिभाषा यसरी गर्छन् ।

एसएलसीपछि आफू एक दिन पनि बेरोजगार नबसेको सगर्व बताउँछन् उनी । यसरी बताउनलायक अर्का कुरा पनि छ रहेछ उनको, 'एसएलसी पछि मैले मेरा अभिभावकसँग एक रुपैयाँ पनि मागेको छैन । पिएचडीसम्म मैले आफ्नै खर्चमा पढेँ ।' एक दिन पनि बेरोजगार नबसेका डा'साबसँग विविध कामका विविध अनुभव रहेछन् । टुरिस्ट गाइड, लेखा सहायक, क्लर्कदेखि ठेकेदारसम्म भएका रहेछन् उनी । 'मसँग ठेक्कापट्टाको 'घ' श्रेणीको लाइसेन्स अझै पनि छ । एक वर्षजति ठेक्कापट्टाको काम गरेँ, २०४२ सालतिर होला ।' दसैंमा टोपी फाटेका मजदुरहरूलाई पैसा दिन नसकेपछि यी चित्लाङेको चित्त कटक्क काटिएछ । 'यस्तो अपराधबोध भयो कि ठेक्कापट्टाको कामै छोडिदिएँ ।'

'कोरा पढाइले केही लछार्दैन अब, कुनै सीप नजान्नेले मैले यति र उति पास गरेको छु भन्नुको कुनै अर्थ छैन’
गिरिब तथा विपन्न वर्गको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा सहभागिता विषयमा पिएचडी गरेका उनी सीपको महिमागान गाएर कहिल्यै थाक्दैनन् । एडिबीको ऋण-सहयोगमा सञ्चालित रोजगारीका लागि सीप परियोजनाका प्रमुख रामहरि भन्छन्, 'हामी नेपालीले अझै पनि सीपको महत्त्व बुझेका छैनौँ । सीपले जनताको जीवन-निर्वाहलाई सजिलो मात्रै बनाउँदैन, यसले त जनतालाई नागरिकका रूपमा देशप्रतिको दायित्व निर्वाह गर्न सक्षम बनाउँछ ।' सीप परियोजनाको हाकिम भएका कारण मात्रै 'जसको सिता, उसको गीता' गरेर उनले सीपको यतिविधि बखान गरेका होइनन् । 'एक डलरभन्दा कम दैनिक आम्दानी भएका गरिब नेपालीको उक्सिने माध्यम भने पनि, उपाय भने पनि सीप मात्रै हो,' उनले तर्क गरे ।

जिनशक्ति तीनथरीका हुन्छन्- दक्ष, अर्धदक्ष र अदक्ष । सीप र शिक्षा दुवै भएको या राम्रो सीप भएको जनशक्ति दक्ष हो भने काम चलाउ सीप भएको अर्धदक्ष र सीप एवं शिक्षा दुवै नभएको चाहिँ अदक्ष । शारीरिक श्रम मात्रै गर्न सक्ने र जान्ने अदक्ष जनशक्ति हुन् । अर्धदक्ष मान्छे काम गर्दै जाँदा अनुभवका आधारमा दक्ष बन्न सक्छ । जस्तो, प्लम्बरको सहायक भएर काम गरिरहेको मान्छे काम गर्दै जाँदा प्लम्बर बन्न सक्छ । धेरै पढ्दैमा कोही दक्ष जनशक्ति भइहाल्छ भन्न सकिन्न ।

नेपालमा यस्तरी बेरोजगारी बढ्नुका के-के कारण हुन सक्छन् ? रामहरिका अनुसार यसका धेरै कारण छन् । तीमध्ये केही हुन्- श्रम र सीपको सम्मान गर्ने संस्कृतिको अभाव, पढेकाले जागिरै खानुपर्छ भन्ने पुरानो मानसिकता, उद्यमशीलताको अभाव, शिक्षित मान्छेले मजदुरी गर्दै नगर्ने प्रवृत्ति आदि ।

'कोरा पढाइले केही लछार्दैन अब,' उनी भन्छन्, 'कुनै सीप नजान्नेले मैले यति पास गरेको छु र उति पास गरेको छु भन्नुको कुनै अर्थ छैन । युरोपमा यौटा प्रोफेसर वेटरको काम गरिरहेको भेटिन सक्छ ।'

शिक्षित मान्छेसँग सीप पनि छ भने धेरै सजिलोसित उन्नति गर्न सक्छ भन्ने उनको ठम्याइ छ । कसरी ? उनी उदाहरणसहित व्याख्या गर्छन्, 'मानौं, एक शिक्षितले कुनै व्यावसाय सुरु गर्‍यो । उसलाई बैंकसँग कसरी काम गर्ने, ऋण कसरी लिने, बजारमा कसरी जाने आदिमा जानकार हुन धेरै समय लाग्दैन । त्यस्तै, पढे-लेखेको मान्छेले कुकिङ पनि सजिलै गर्न सक्छ किनभने कुकिङसम्बन्धी कुरा पढ्न र चाँडै बुझ्न सक्छ ऊ ।'

उनलाई लाग्छ आजको युवापुस्ता केवल आफ्ना लागि बाँचिरहेको छ । उनीहरूको चरित्र एकदमै व्यक्तिवादी हुँदै गइरहेको र परिवार र राष्ट्रप्रतिको दायित्वबोध उति नगरेकोमा उनलाई गुनासो छ । अपसोच, प्लम्बिङको तालिम दिएझैं परिवार, समाज र राष्ट्रप्रतिको दायित्वबोध सिकाउन तालिम दिन सकिँदैन ।

विर्तमान शिक्षा प्रणालीमाथि पनि डाक्टरसा'बको असन्तुष्टि छ । नहोस् पनि कसरी ? कलेज र विश्वविद्यालयहरू केवल बेरोजगार उत्पादन गर्ने कारखानाजस्तै भएका छन् । उनको विचारमा हाम्रो शिक्षा-प्रणाली जागिरमुखी छ, उद्यममुखी छैन । यसको दृष्टान्त लोकसेवाको गाइड बोकेर हिँड्ने विद्यार्थीहरू हुन् । त्यस्तै, एकेडेमिक क्यालेन्डरअनुसार पठनपाठन नहुनु, शिक्षामा अनावश्यक राजनीतिकरण हुनुजस्ता कुराले पनि देशलाई दक्ष जनशक्ति प्राप्त गर्नबाट वञ्चित गराइरहेका छन् भन्ने तर्क छ डाक्टरसा'बको ।

उनका अनुसार सीपयुक्त जनशक्ति तयार गर्न माध्यमिक तहदेखि नै यौटा/दुइटा विषयमा व्यावसायिक शिक्षा दिनुपर्छ । 'दैनिक जीवनका सानातिना काम निम्ट्याउने सीप पनि हामीसँग छैन,' उनी भन्छन्, 'यौटा सामान्य पेचकिला खुस्क्यो भने मिस्त्री बोलाउन जान्छौँ ।'
सरकारको नीति पनि सीपयुक्त जनशक्ति उत्पादन गर्न सहायक छैन भन्छन् उनी । यसखाले नीति ठीक भएको जर्मनीको उदाहरण दिन्छन् उनी, 'त्यहाँको सरकारी नीति कस्तो छ भने कुनै उद्योग दर्ता गर्दा त्यस उद्योगले टेक्निकल स्कुलका यति विद्यार्थीलाई ओजेटी (जागिरसहितको प्रशिक्षण) दिन्छु भनेर कबुलनामा गरेको हुन्छ ।'

उनले सीपको जतिसुकै वकालत गरे पनि सिकर्मी, डकर्मी, मिस्त्री, चर्मकार, सूचिकार, लोहारजस्ता हातमा विशिष्ट सीप भएकालाई समाजमा हेयदृष्टिले हेरिन्छ । उनका अनुसार कामलाई भन्दा पद र पैसालाई सम्मान गर्ने हाम्रो मानसिकताका कारण यसो भएको हो । 'युरोपतिर ब्ल्याक कलर जब (बढी श्रम पर्ने काम) गर्नेले घन्टाको ७० युरो कमाउँछ भने ह्वाइट कलर जब (टेबलमा बसेर कलम घुमाउने काम) गर्नेले घन्टाको ३०/४० युरो कमाउँछ । त्यहाँ श्रम र सीपलाई पारिश्रमिकले सम्मान गरेको छ ।'

विदेशमा युनिभर्सिटी ग्य्राजुएटहरू खेतमा ट्याक्टर चलाइरहेका हुन्छन् । तर, हामीकहाँ पढेकाहरू कोदाली नै समाउन हुँदैन, हिलोमा टेक्नै हुँदैनजस्तो गर्छन् । अझ रमाइलो त के भने कृषि पढेकाहरूसमेत तरकारीखेती या यस्तै कृषिसम्बन्धी काम गरिरहेका हुँदैनन् । डाक्टरसा'ब भन्छन्, 'उनीहरूले खेतीपातीको काम सम्हाले उत्पादनमा वृद्धि हुन्थ्यो । कृषिको आधुनिकीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्थे उनीहरू ।'

नेपालमा सीपमूलक कामका कस्ता-कस्ता सम्भावना छन् त ? कति सम्भावना छन् त ? डाक्टरसा'बका अनुसार प्रचुर छन् । कुन-कुन क्षेत्रमा के-के सम्भावना छन्, उनले प्रस्तुत गरेको सूची यस प्रकार छ :
निर्माण क्षेत्र : सिकर्मी, डकर्मी, प्लम्बर, इलेक्टि्रसियन, टायल/मार्बल फिटर, पेन्टर आदि
कृषि क्षेत्र : पशुपालन प्राविधिक, तरकारी उत्पादक, फलफूल/खाद्य प्रशोधनकर्ता, कृषिसँग सम्बन्धित मिस्त्री
पर्यटन क्षेत्र : गाइड, कुक, वेटर, हाउसकिपर, रिसेप्सनिस्ट, बडी मसाजर, केयर-गिभर आदि
स्वास्थ्य क्षेत्र : अनमी, सिएमए, स्वास्थ्य सहायक आदि
मेकानिकल क्षेत्र : वेल्डर, गाडीको मिस्त्री, मोटरसाइकल मिस्त्री आदि

अनि, सीप सिक्दाका फाइदा के-के छन् त ? उनका अनुसार सीपले रोजगारीको अवसर दिलाउँछ, व्यक्तिको आम्दानीमा केहीगुना वृद्धि गराउँछ र चाँडो वृत्तिविकास गराउँछ । उनी भन्छन्, 'नेपालबाट अरब गएका सामान्य मजदुरले मासिक ७-१० हजार कमाउँछन् भने दुई वर्षको तालिम लिएर सीप सिकेकाले दसौंगुना बढी कमाउँछन् । दुबईको निर्माणाधीन मेट्रो रेलमा काम गर्न नेपालबाट चार हजार मानिस गएका छन् । टेक्निकल एसएलसी गरेकाले त्यहाँ मासिक ८० हजार कमाइरहेका छन् भने सामान्य मजदुर १०/१२ हजार मात्रै कमाइरहेका छन् ।'
सरकारी र निजी क्षेत्रका गरी सीपमूलक तालिम दिने संस्थाहरू नेपालमा पाँच सयभन्दा बढी रहेछन् । तर, तालिमसम्बन्धी समस्या थुप्रै छन् भन्छन् उनी । 'सरकारले सीपमूलक तालिमको समन्वय गर्न सकिरहेको छैन ।
प्रशिक्षक कम छन् । त्यसमाथि सीप सिकाउने सिपालु प्रशिक्षक कम छन् । ग्रामीण क्षेत्रमा तालिम दिने निकाय छैनन् । लक्षित वर्गसम्म तालिमको न जानकारी पुर्‍याउन सकिएको छ, न अवसर ।'

यी डाक्टरसा'ब काम पाइएन भनेर सुस्केरा हाल्नेहरूदेखि छक्क पर्दा रहेछन् । भन्छन्, 'यहाँ कामै-काम छ । बरु हामीसँग काम गर्ने जाँगर, सीप र हिम्मत छैन ।' उनका अनुसार काठमाडौं कवाडीको काम (फलाम, प्लास्टिक जम्मा गर्ने कामको व्यवस्थापन गरेर) गरेर कति भारतीयहरू १०/१२ वर्षमा करोडपति भएका छन् ।
'बेरोजगार हुँ भन्नु यौटा रोग हो,' उनी घोषणा गर्छन् (जो सार्वजनिक हितका लागि सहायकसिद्ध हुन सक्छ) । उनी भन्छन्, 'नयाँ नेपाल जागिर खोज्ने युवाले होइन, जागिर सिर्जना गर्ने युवाले मात्रै बनाउन सक्छन् ।'

विनोदविक्रम केसी
gkcbinodbikram@gmail.com

http://www.nayapatrika.com/newsdetail.php?id=906281225215055&n_id=25

No comments:

Post a Comment